वेस्ट इण्डिजमाथि न्यूजिल्याण्डको शानदार जित, यी चार ब्याटरले बनाए अर्धशतक

 


वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज पाहुना टोली न्यूजिल्याण्डले जितेको छ । आज बिहान सम्पन्न दोस्रो खेलमा वेस्ट इण्डिजलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्डले सिरिज २–१ ले जितेको हो । निर्णायक खेलमा वेस्ट इण्डिजले दिएको ३०२ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि चार ब्याटरले अर्धशतकीय पारी खेले । कप्तान टम लाथमले ७५ बलमा ६ चौकासहित ६९, डारियल मिचेलले ४९ बलमा ६ चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए । त्यस्तै, मार्टिन गुप्टिलले ६४ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५७ तथा डेभन कन्वेले ६३ बलमा ६ चौकाको मद्दतमा ५६ रनको योगदान दिए ।
अलराउन्डर जेम्स नीशमले ११ बलमा चार छक्का र एक चौकाको मद्दतमा अविजित ३४ रनको आक्रामक पारी खेले । माइकल ब्रेसवेल १४ रनमा अविजित रहे । फिन आलेन भने तीन रनमै आउट भए । वेस्ट इण्डिजका लागि जेसन होल्डर, यानिक करियाहले दुई/दुई र अल्जारी जोेसेफले एक विकेट लिए ।

त्यसअघि बार्बाडोसको ब्रिजटाउनस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनायो । उसका लागि कायल मेयर्सले शतकीय पारी खेले । ११० बलको सामना गरेका उनले १२ चौका र तीन छक्काको सहयोगमा १०५ रन बनाए । एकदिवसीयमा मेयर्सको यो दोस्रो शतक हो । त्यस्तै, कप्तान निकोलस पूरनले आक्रामक ब्याटिङ गरे ।

५५ बल मात्र खेलेका उनले ९ छक्का र चार चौकाको मद्दतमा ९१ रन बनाए । ओपनर साई होपले १०० बलमा तीन चौका र एक छक्कासहित ५१ रन जोडे । अल्जारी जोसेफ २० रनमा अविजित रहे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले तीन, मिचेल सान्टनरले दुई, जेम्स नीशम, लकी फर्गुसन र टिम साउथीले एक/एक विकेट लिए । पहिलो खेलमा वेस्ट इण्डिज ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने ऊ ५० रनले पराजित हुन पुग्यो । उसले सो खेलमा २१३ रनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

Post a Comment

Previous Post Next Post